दाङ, ९ भदौ । सामाजिक सेवामा सक्रिय युथ अफ तुलसीपुरले तुलसीपुर उपमहानगरपालिका १ कुमाल गाउँ स्थित श्री बाल प्राथमिक विद्यालयका ४५ जना असहाय तथा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको छ । युथ अफ तुलसीपुरको आयोजना तथा यमकान्त खरेलको विशेष सहयोगमा विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्री वितरण गरिएको हो ।
विद्यार्थीहरूलाई कापी, कलम, ब्याग लगायतका विभिन्न शैक्षिक सामग्री गरी ६० हजार रुपैयाँ भन्दा बढी मूल्य बराबरको सामग्री हस्तान्तरण गरिएको युथ अफ तुलसीपुरका अध्यक्ष अरुण लहरेले जानकारी दिएका छन ।
लहरेका अनुसार युथ अफ तुलसीपुरले स्थापना कालदेखि नै सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ । विशेषगरी आर्थिक अवस्था कमजोर भएका, असहाय तथा विपन्न विद्यार्थीलाई अध्ययनमा सहज होस् भन्ने उद्देश्यले संस्थाले विभिन्न विद्यालय तथा समुदायमा सहयोग गर्दै आएको उनले बताएका छन ।
कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिका १ का वडा अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि होमकान्त कडेलले विपन्न तथा असहाय विद्यार्थीलाई लक्षित गरी गरिएको सहयोग प्रशंसनीय रहेको बताएका छन । उनले आर्थिक अभावका कारण कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले गरिने यस्ता सामाजिक कार्यले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने बताएका हुन ।
वडा अध्यक्ष कडेलले युथ अफ तुलसीपुरले तुलसीपुरका विभिन्न क्षेत्रमा सामाजिक सेवाका गति विधि गर्दै आएको उल्लेख गर्दै आफ्नो वडामा रहेको विद्यालयका विद्यार्थीलाई समेत सहयोग गरेकोमा संस्था र संस्थाका अध्यक्ष अरुण लहरेप्रति धन्यवाद व्यक्त गरे । उनले आगामी दिनमा पनि सामाजिक क्षेत्रमा यस्ता सहयोग तथा अभियानलाई निरन्तरता दिन आग्रह समेत गरे ।
त्यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पलबहादुर खडालले विद्यालयमा अध्ययनरत ४५ जना विद्यार्थीलाई एकैपटक ठूलो परिमाणमा शैक्षिक सामग्री सहयोग प्राप्त हुनु विद्यालयका लागि महत्वपूर्ण सहयोग भएको बताए । खडालले विद्यालय परिवारको तर्फबाट सहयोगी संस्था युथ अफ तुलसीपुर, अध्यक्ष अरुण लहरे तथा विशेष सहयोगी यमकान्त खरेलप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि विद्यालय र विद्यार्थीका लागि यस्तै सहयोगको अपेक्षा रहेको बताए ।
कार्यक्रममा विद्यार्थी, शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा स्थानीयको सहभागिता रहेको थियो । सहयोग प्राप्त गरेपछि विद्यार्थीहरूमा समेत उत्साह देखिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पलबहादुर खडालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा तुलसीपुर उपमहानगरपालिका १ का वडाध्यक्ष होमकान्त कडेलको उपस्थिति रहेको थियो। कार्यक्रममा युथ अफ तुलसीपुरका अध्यक्ष अरुण लहरे, विद्यालयका शिक्षक, विद्यार्थी तथा स्थानीयको सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण विद्यालयका प्रधानाध्यापक प्रकाश पाण्डेले गरेका थिए ।

