दाङ, १ असोज । रसुवामा गत भदौ १० गते आएको बाढीमा परी मृत्यु भएका तुलसीपुर उपमहानगरपालिका १९ का करिब ९ र तुलसीपुर १८ का १ गरी १० घरपरिवारलाई विभिन्न व्यक्ति तथा संस्थाले सहयोग गरेका छन् । तुलसीपुर १९ का वडा अध्यक्ष प्रेमनाथ योगीको पहलमा आयोजित सहयोग कार्यक्रममा नेवार संघ समितिका सदस्य तथा डिजिटल कम्प्युटर एन्ड इलेक्ट्रोनिक पसलका सञ्चालक प्रकाश श्रेष्ठले नगद रु. ५५ हजार सहयोग गरेका थिए । उक्त रकम बाढीमा परी मृत्यु भएका परिवारलाई सहयोगस्वरूप प्रदान गरिएको हो ।
त्यसैगरी, तुलसीपुर उपमहानगरपालिका ६ का निवर्तमान वडा अध्यक्ष नवराज लामिछानेले तुलसीपुर १९ का ९ र तुलसीपुर १८ का १ गरी १० घरपरिवारलाई एक थान बलाङ्केट सहयोग गर्नुभएको छ । तुलसीपुर १९ गणेशगंगा आमा समूहले पनि बाढीपीडित ९ परिवारलाई एक एक बोरा खाद्यान्न सहयोग गरेका छन । भने वडा अध्यक्ष प्रेमनाथ योगीको अध्यक्षतामा सम्पन्न सहयोग कार्यक्रममा वडा सदस्यहरू पूर्णबहादुर बुढाथोकी र रेवती विक, तुलसीपुर ६ का पूर्व वडा अध्यक्ष नवराज लामिछाने, नेवार संघ समितिका जिल्ला उपाध्यक्ष पुष्कर श्रेष्ठ, नगर अध्यक्ष शिव श्रेष्ठ, नगर कोषाध्यक्ष राजकुमार श्रेष्ठ, नगर सदस्य प्रकाश श्रेष्ठ, नेकपा एमाले तुलसीपुर १९ का वडा अध्यक्ष लोकबहादुर रोका, वडा १९ का पूर्व जनप्रतिनिधिहरू तथा विभिन्न सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
साथै सहयोग हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष प्रेमनाथ योगीले विपद्को समयमा पीडित परिवारलाई सहयोग गर्ने सम्पूर्ण सहयोगी व्यक्ति, संस्था तथा दाताहरूलाई धन्यवाद व्यक्त गरेका थिए । उनले दुःखमा परेका परिवारलाई स्थानीय तह, सामाजिक संस्था, समूह तथा व्यक्तिहरूबाट प्राप्त हुने सहयोगले राहत र मनोबल प्रदान गर्ने बताएका थिए । कार्यक्रमको सहजीकरण वडा सचिव सुनिता थापाले गरेकी थिईन ।
