दाङ, ५ असोज । महिलाहरूको सहभागिता, आत्मविश्वास र सुरक्षित सवारी संस्कृतिलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना हुन लागेको महिला स्कुटर स्लो रेस प्रतियोगिता सम्बन्धी पत्रकार सम्मेलन तुलसीपुरमा सम्पन्न भएको छ ।
Artistic Entertainment को आयोजनामा हुने प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको उद्देश्य, तयारी, नियम, पुरस्कार तथा सहभागिताका विषयमा जानकारी गराइएको थियो ।
कार्यक्रममा वरिष्ठ पत्रकार नारायण खड्काको उपस्थिति रहेको थियो । त्यस्तै लुम्बिनी प्रदेश चलचित्र पत्रकार संघका अध्यक्ष शिव पुनले पनि कार्यक्रममा आफ्नो धारणा राख्दै महिलाहरूको सहभागिता र सुरक्षित सवारीसम्बन्धी यस्ता कार्यक्रमले सकारात्मक सन्देश प्रवाह गर्ने बताएका थिए ।
प्रतियोगितामा सहभागी महिलाहरूले निर्धारित ट्र्याकमा स्कुटर चलाउँदै सन्तुलन कायम गरी सबैभन्दा कम गतिमा अन्तिम रेखा पार गर्ने प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिताका क्रममा निर्धारित लाइन भित्रै रहनु पर्ने र स्कुटर चलाउँदा खुट्टा जमिनमा टेकाउन नपाइने आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुनेलाई रु. ५,०००, द्वितीयलाई रु. २,५०० र तृतीय हुनेलाई रु. १,२५० पुरस्कार प्रदान गरिनेछ ।
यसैगरी प्रतियोगितामा सहभागी सबै प्रतियोगीलाई दुईवटा टिकट उपलब्ध गराई नेपाली कथानक चलचित्र ‘बा युद्ध’ हेर्ने अवसर प्रदान गरिने आयोजकले जनाएको छ । त्यस्तै प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विजेताका परिवारका सदस्यहरूलाई समेत ‘बा युद्ध’ चलचित्र हेर्ने व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।
आयोजकका अनुसार प्रतियोगिता २०८३ असोज ७ गते बिहान ७ बजे अरणीको मैदान, तुलसीपुरमा आयोजना हुने छ । प्रतियोगितालाई व्यवस्थित तथा सुरक्षित रूपमा सम्पन्न गर्न आवश्यक तयारी भइरहेको छ ।
प्रतियोगितामा सहभागी हुन इच्छुक महिलाहरूले आयोजकले उपलब्ध गराएको दर्ता प्रक्रियामार्फत सहभागिता जनाउन सक्ने छन् ।
कार्यक्रम समन्वयक: झग्गु भण्डारी
आयोजक: Artistic Entertainment
सम्पर्क: ९८२३०६७८८८
