दाङ, १० असोज । कहिलेकाहीँ पीडा ठूलो हुँदैन, तर त्यसलाई सुनिदिने कोही हुँदैन ।
कहिलेकाहीँ आँसु देखिँदैन, तर मनभित्रको घाउ गहिरो हुन्छ ।
यस्तै मौन पीडा र संघर्षको कथा बोकेको लघु चलचित्र ‘एक्लो नारी’ सार्वजनिक भएको छ । वास्तविक तथा भावनात्मक कथावस्तुमा आधारित यस चलचित्रले महिलाले जीवनका विभिन्न मोडमा भोग्नुपर्ने पीडा, संघर्ष, सामाजिक दबाब र मौनतालाई कथामार्फत प्रस्तुत गरेको छ । हरेक महिलाको जीवनमा कतै न कतै लुकेका भावना, भन्न नसकेका कुरा र सहेर बसेका पीडालाई पर्दामा उतार्ने प्रयास ‘एक्लो नारी’ ले गरेको छ । चलचित्रले महिलालाई केवल पात्रका रूपमा नभई आफ्नै कथा बोकेका संवेदनशील पात्रका रूपमा प्रस्तुत गर्दै उनीहरूको मनभित्रको आवाजलाई दर्शकमाझ पुर्याउने प्रयास गरेको निर्माण टिमले जनाएको छ । ‘एक्लो नारी’ को कथा, निर्देशन तथा सम्पादन अभिषेक मल्लले गरेका छन् । छायांकन राजीव चौधरीले गरेका छन् भने सहायक छायांकन समीर चौधरीको रहेको छ ।
चलचित्रमा कमल गाउँले, सुहाना ओली, अभिषेक मल्ल, कोपिला के.ए. र अर्जुन रोका मगर लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रको पोस्ट प्रोडक्सन स्मार्ट फिल्म्स स्टुडियोमा गरिएको हो भने ‘एक्लो नारी’ Smart Tune युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । महिलाको आँखामा देखिने आँसु मात्र होइन, त्यो आँसु पछाडिको कथा बुझ्ने प्रयास हो—‘एक्लो नारी’।
मौन भएर सहिएका पीडा, मनभित्र दबिएका भावना र संघर्षका कथालाई पर्दामा उतारिएको यो चलचित्रले दर्शकको मन छुने विश्वास निर्माण टिमले लिएको छ ।

