२०८३ असोज १७ गते शनिवार | 2026 October 3rd Saturday

कुटेचौरमा भलिबलको रौनक, १९ टोली मैदानमा

दाङ, १७ असोज । तुलसीपुर उपमहानगरपालिका १९ कुटेचौरमा शनिबार देखि खुला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । कुटेचौर युवा समूहको आयोजनामा नवजागरण माध्यमिक विद्यालय कुटेचौरको खेल मैदानमा प्रतियोगिता सञ्चालन भएको हो ।

प्रतियोगिताको उद्घाटन दाङ जिल्ला भलिबल संघका अध्यक्ष लक्ष्मण बस्नेतले गरेका हुन । उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले खेलकुदले राष्ट्रको गौरव र पहिचानलाई उचाइमा पुर्‍याउने बताएका हुन । उनले खेलकुद क्षेत्रको विकासका लागि तीनै तहका सरकार सँगै सम्बन्धित सरोकारवालाहरू थप गम्भीर र जिम्मेवार बन्नु पर्नेमा जोड दिएका थिए ।

क्लबका संरक्षक कृष्ण मल्लको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा तुलसीपुर १९ का वडाध्यक्ष प्रेमनाथ योगी विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए । क्लबका सल्लाहकार शरण जिएमले स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण क्लबका अध्यक्ष सेबक मल्लले गरेका थिए ।

भोलिसम्म सञ्चालन हुने प्रतियोगितामा १९ वटा टिमले सहभागीता जनाएका छन । प्रतियोगिताको मुख्य प्रायोजन जय श्री हनुमान फिक्स चिम्नी इँटा उद्योगका सञ्चालक मोहन घर्तीले गरेका छन । उद्घाटन खेलमा साहसी युवा क्लब र तुलसीपुर – ७ ले विजयी सुरुवात गरेका छन् । साहसी युवा क्लबले खैरा -११ लाई २५-२२ र २५-२१ ले पराजित गर्दै २-० को सोझो सेटमा जित निकाल्दा तुलसीपुर–७ ले दोघरे-१९ लाई २५-१८ र २५-२२ ले हराउँदै विजयी सुरुवात गरेको हो ।

प्रकाशित मिति : २०८३ असोज १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस