२०८३ कार्तिक १३ गते बिहिवार | 2026 October 29th Thursday

सल्यानमा अटो दुर्घटना : एक जनाको मृत्यु, चालक घाइते

सल्यान, १२ काक्तिक । सल्यानको बागचौर नगरपालिका १० माथिल्लो मोखोलामा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक घाइते भएका छन् । बिहीबार बिहान करिब १ः३० बजेको समयमा मोखोला बजारबाट माथिल्लो मोखोलातर्फ जाँदै गरेको रा १ ह ६१२६ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब ५५ मिटर तल खसेको हो ।

दुर्घटनामा परी अटोमा सवार सल्यानको छत्रेश्वरी गाउँपालिका ५ सिर्बाली निवासी ३५ वर्षीय रेशम राउतको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । अटो चालक बागचौर नगरपालिका १० निवासी करिब ३४ वर्षीय निर्मल कवर मगर घाइते भएका छन् । उनको टाउको, बायाँ खुट्टा र ढाडमा चोट लागेको प्रहरीले जनाएको छ । घाइते चालकलाई उपचारका लागि दाङको घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ लगिएको छ । उनको अवस्था मध्यम रहेको बताइएको छ ।

घटनाबारे बिहान ७ः०५ बजे इलाका प्रहरी कार्यालय थारमारेमा जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षक यामबहादुर मल्लको कमाण्डमा ट्राफिक प्रहरीसहित आठ जनाको टोली घटनास्थलमा खटिएको थियो ।

प्रहरीका अनुसार दुर्घटनामा परेको अटो र मृतकको शव घटना स्थलमै रहेको अवस्थामा प्रारम्भिक जानकारी प्राप्त भएको थियो । दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । घटनास्थल इलाका प्रहरी कार्यालय थारमारेबाट करिब १० किलो मिटर दक्षिणमा पर्छ ।

प्रकाशित मिति : २०८३ कार्तिक १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस