दाङ, २९ काक्तिक । उज्यालो नेटवर्क एण्ड मल्टिपर्पोज प्रा.लि.ले देउसी भैलो कार्यक्रमबाट संकलित रकम सामाजिक तथा विकास निर्माणका कार्यमा खर्च गर्ने अभियानलाई निरन्तरता दिएको छ । संस्थाले देउसी भैलो कार्यक्रम बाट संकलित रकम मध्ये ५५ हजार ५५५ रुपैयाँ दाङको तुलसीपुर उपमहानगरपालिका ७ स्थित पर्सेनीमा निर्माण हुन लागेको प्रवेशद्वार (गेट) निर्माणका लागि सहयोग गरेको हो । एक कार्यक्रमका बीच उक्त रकम गेट निर्माण समितिका अध्यक्ष भरत ओली र सचिव ईश्वरी प्रसाद पौडेललाई हस्तान्तरण गरिएको हो ।
तुलसीपुर उपमहानगरपालिका ७ का वडा अध्यक्ष रामबहादुर जिसीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उज्यालो नेटवर्क एण्ड मल्टिपर्पोज प्रा.लि.का सञ्चालक उदय ओली, सल्लाहकार शंकरमान विष्ट, सचिव टेकम पुन, सदस्यहरू धुर्बजंग ओली, स्मृति ओली, वसन्त गिरी लगायत संस्थाको टोलीको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण संस्थाका अध्यक्ष दीपक वलीले गरेका थिए ।
देउसी भैलोबाट संकलित रकमलाई सामाजिक सेवा तथा स्थानीय विकास निर्माणमा सदुपयोग गर्ने उद्देश्यले सहयोग गरिएको संस्थाले जनाएको छ । स्थानीय कला, संस्कृति र परम्पराको संरक्षणसँगै सामाजिक उत्तरदायित्व बहन गर्दै आएको संस्थाले आगामी दिनमा पनि यस्ता सामाजिक, सांस्कृतिक तथा रचनात्मक गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।






