२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

सुन तस्करी प्रकरणमा थप ३ जना पक्राउ

काठमाडौँ, २४ भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल भित्रिएको ६० केजी सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले थप तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृत पुष्पा जोशी, भन्सार कार्यालयकै नायब सुब्बा कमल परियार र वीरेन्द्र नेपाली रहेको प्रहरीले जनाएको छ।

नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायतले तस्करी प्रकरणमा अनुसन्धान गर्ने क्रममा भन्सार कार्यालयका थप तीन जना कर्मचारी पक्राउ परेको जानकारी दिनुभयो। योसँगै सुन प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या ३० पुगेको छ । गत साउन २ गते हङकङबाट क्याथे प्यासेफिकको विमानमार्फत स्कुटरको ब्रेक सुभित्र लुकाएर ल्याएको ६० केजी ७१६ ग्राम सुन राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट पास भएपछि पार्किङ क्षेत्रबाट बरामद गरेको थियो।

यसबारे पहिलो चरणको अनुसन्धान गर्दा अन्तरदेशीय गिरोहको संलग्नता देखिएपछि विस्तृत अनुसन्धानका लागि साउन २२ गते राजस्व अनुसन्धान विभागले थप अनुसन्धानका लागि फाइल सिआइबीमा बुझाएको थियो । सिआइबीले उक्त सुन तस्करी प्रकरणको सङ्गठित अपराध कसुरमा अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २०८० भाद्र २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस