२०८३ असोज ११ गते आइतवार | 2026 September 27th Sunday

छिल्लीकोट संरक्षण तथा प्रवर्द्धनका लागि ३५ लाख बजेट विनियोजन

दाङ, २४ पुस । दाङको धार्मिक एवं पर्यटकीय स्थल छिल्लीकोटको संरक्षण तथा प्रवर्द्धनका लागि ३५ लाख बजेट विनियोजन भएको छ । तुलसीपुर उपमहानगरपालिका –१९ स्थित रहेको  छिल्लीकोट संरक्षण तथा प्रप्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्डले ३५ लाख बजेट विनियोजन गरेको हो । 

पर्यटकीय गतिविधिका लागि न्युनतम भौतिक पुर्वाधारको विकास गर्न स्थानीय सरोकारवालाको समेत सहभागीतामा छिल्लीकोटको विकास गरिने भएको छ ।

छिल्लीकोट स्थित रहेको कालिका मालिका मन्दिर क्षेत्रको संरक्षण तथा प्रवर्द्धन गर्न चालु वर्षमा नेपाल पर्यटन बोर्डबाट ३० लाख रूपैया विनियोजन भएको तुलसीपुर उपमहानगरपालिका १९ का अध्यक्ष प्रेमनाथ योगीले सामाजिक संजाल मार्फत जानकारी दिएका छन् । 

त्यस्तै छिल्लीकोट पुग्न चोरकोटदेखि मालिका मन्दिरसम्म सिढी निर्माण गरीने भएको छ । सिढी निर्माणका लागि पाँच लाख रूपैया विनियोजन गरिएको छ ।

केहिदिन अगाडी तुलसीपुर अनलाइनमा संस्थापक मुख्यमन्त्री शंखर पोख्रेलको पालाबाहेक उक्त स्थानमा बजेट विनियोजन नभएको भन्ने समाचार प्रकाशन भएपछि अध्यक्ष योगीले यस्तो कुराको जानकारी आफ्नो सामाजिक संजालमार्फत जानकारी गराएका हुन् । 

छिल्लीकोटमा बास बस्नको लागि होमस्टेको व्यवस्था पनि रहेको छ । ऐतिहासिक एवं धार्मिकस्थल मालिका कालिकाको मन्दिर तथा विश्वकै दुर्लभ वनस्पति सुगन्ध कोकिलाको मनोरम दृश्यले छिल्लीकोट प्रख्यात छ ।

पर्यटकहरुले मालिका कालिकाको मन्दिर दर्शन, छिल्लीकोटे राजाको ऐतिहासिक दरबारको भग्नावशेष, भ्युटावरबाट दृश्यावलोकन, उत्तरी हिमशृङ्खलाहरुको मनोरम परिदृश्य, मालागेडीको बन, चराचुरुंगीहरुको मधुर स्वरलगायत थुप्रै प्राकृतिक मनोरम दृश्यहरुको अवलोकन गर्न पाउने छन् ।

प्रकाशित मिति : २०८० पुष २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस