२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

सल्यानको कालिमाटी गाउँपालिकामा जग्गा नापजाँच सुरु

दाङ, ३ माघ । सल्यानको कालिमाटी गाउँपालिकामा जग्गा नापजाँच सुरु भएको छ । भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासलाई व्यवस्थापन गर्ने प्रयोजनका लागि कालिमाटी गाउँपालिकाले बुधबार देखि वडा नम्बर २ को चिसातराबाट जग्गा नापजाँच कार्यको सुरुवात गरेको हो । 

राष्ट्रिय भुमी आयोग सल्यानका अध्यक्ष वीर बहादुर सेजवाल, नापी कार्यालय सल्यानका प्रमुख गोविन्द उपाध्याय लगायत स्थानिय जनप्रतिनिधि, भुमिहिन तथा अव्यवस्थित बसोबासिहरुको उपस्थितिमा जग्गाको नाप नक्सा कार्य सुरु भएको कालिमाटीका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पौड्यालले जानकारी दिएका हुन । जग्गा नापजाँचका लागि सम्बन्धित व्यक्तिको नागरिकता, उपलब्ध अन्य प्रमाण र निवेदन दर्ताको निस्सासहित उपस्थित भई आफूले भोग गरेको जग्गाको साँध सिमाना देखाई नापी गराउन वडावासीलाई आग्रह गरिएको छ ।

आगामी चैत्र महीना सम्ममा पहिलो चरणको जग्गाधनी पुर्जा वितरण गर्ने लक्ष्य सहित राष्ट्रिय भुमी आयोग संगको समन्वयमा सम्झौता अनुसार काम अगाडी बढाइएको हो । पहिलो चरणमा कालिमाटी २ मा ४४१ जनाको जग्गा नापजाँच हुदैछ । यसपछी क्रमशः वडा नम्बर ३,४,५,१,६ र ७ मा नाप नक्साको कार्य गरिने पालिकाले जनाएको छ । भूमि आयोगसँगको सहकार्यमा नापनक्साको कार्य अगाडि बढाएको र चाँडै भूमि सम्बन्धी समस्यामा परेका सबै नागरिकको जग्गाधनी पुर्जाको लागि प्रकृया सुरु हुने गाउँपालिकाले जनाएको छ । 

वर्षौंदेखि बस्दै आएको जग्गाजमिनको लालपुर्जा नहुँदा सुकुम्बासी जीवन बिताउनु परेको स्थानीयहरुको गुनासो छ । बारम्बार लगत संकलन गरेर लैजाने गरिए पनि काम नभएको बताउदै स्थानीयहरुले अव भने जग्गाको लापूर्जा पाउने आशा पलाएको बताएका छन् ।

प्रकाशित मिति : २०८० माघ ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस