२०८३ जेष्ठ १९ गते मङ्गलवार | 2026 June 2nd Tuesday

प्रसूतिगृहबाट नवजात शिशु चोरी गर्ने महिलालाई प्रहरीले गर्‍यो सार्वजनिक

काठमाडौं, १२ फागुन । काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूतिगृह तथा स्त्री रोग अस्पतालबाट शुक्रबार नवजात शिशु चोरी गर्ने महिलालाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ ।

शिशु चोरीमा संलग्न दैलेख नौमूले गाउँपालिका–१ घर भई हाल काठमाडौँ काँडाघारी बस्ने २४ वर्षीया मनकुमारी सिंह रहेको प्रहरीले बताएको हो ।

उनलाई आज पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए। उनका अनुसार उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले शुक्रबार राति निज बस्ने कोठाबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

चोरी गरिएकी शिशुलाई उद्धारपछि आफन्तको जिम्मा लगाई अहिले काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। उक्त घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रवक्ता एवं प्रहरी उपरीक्षक अधिकारीले बताए ।

काभ्रेपलाञ्चोकको चौरी देउराली गाउँपालिका–३ घर भई हाल काठमाडौँको कपन बस्दै आएकी २२ वर्षीया सविना श्रेष्ठले शुक्रबार दिउँसो प्रसूतिगृहबाट २६ दिनको आफ्नो शिशु चोरी भएको भन्दै प्रहरीलाई मौखिक सूचना दिएपछि प्रहरीले सोही दिनदेखि खोजी सुरु गरेको थियो ।

प्रकाशित मिति : २०८० फाल्गुन १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस