२०८३ असोज १० गते शनिवार | 2026 September 26th Saturday

२३ औं राष्ट्रिय आईटिएफ तेक्वान्दो प्रतियोगिताका लागि दाङका चार जना खेलाडी छनोट

दाङ, २४ वैशाख । २३ औँ राष्ट्रिय आईटिएफ तेक्वान्दो प्रतियोगिता–२०८१ का लागि दाङबाट चार जना खेलाडी छनोट भएका छन् । लुम्बिनी प्रदेश आईटिएफ तेक्वान्दो संघको आयोजनामा शनिवार बुटवलमा भएको प्रदेशस्तरीय छनोट प्रतियोगितामा दाङबाट सहभागी भएका चार जना खेलाडीहरु प्रदेशस्तरीय टिमका लागि छनोट भएका हुन ।

छनोट प्रतियोगिताबाट ४०–४५ केजी तौल समूहमा सृष्टि योगी, ४५–५० तौल समूहमा अनिशा घिमिरे, ७० केजी प्लस तौल समूहमा सञ्चिता पुन र ८० केजी प्लस तौल समूहमा अनुराग रोकामगर प्रदेशस्तरीय टिमका लागि छनोट भएको दाङ जिल्ला आईटिएफ तेक्वान्दो संघका अध्यक्ष भीमबहादुर थापाले जानकारी दिए । प्रदेशस्तरीय छनोट खेलमा लुम्बिनी प्रदेशका ११ जिल्लाका खेलाडीहरुबाट १५ जना खेलाडीहरु छनोट भएका छन् । 

जसमा आठ जना पुरुष र सात जना महिला खेलाडीहरु रहेका छन् । प्रदेशस्तरीय टिममा छनोट भएका खेलाडीहरु यहि बैशाखको २९, ३० र ३१ गते रोल्पाको परिवर्तन गाउँपालिकामा हुने २३ औँ राष्ट्रिय आईटिएफ तेक्वान्दो प्रतियोगितामा लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै सहभागी हुने छन् ।

नेपाल इन्टरनेस्नल तेक्वान्दो महासंघ त्रिपुरेश्वर काठमाडौँको आयोजना र रोल्पा आईटिएफ तेक्वान्दो संघको सहआयोजना तथा व्यवस्थापनमा हुन थालेको प्रतियोगितामा लुम्बिनी प्रदेशसहित कोशी प्रदेश, मधेस प्रदेश, वागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेश, नेपाल आर्मी क्लब, नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब र रोल्पा आईटिएफ तेक्वान्दो संघका खेलाडीहरु सहभागी हुँदैछन् ।

प्रकाशित मिति : २०८१ बैशाख २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस