२०८३ बैशाख ८ गते मङ्गलवार | 2026 April 21st Tuesday

चक्कु प्रहारबाट गम्भीर घाइते खड्काको उपचारका क्रममा मृत्यु

दाङ, ३१ जेठ । दाङमा धारिलो हतियार चक्कु प्रहारबाट गम्भीर घाइते भएका गोरखलाल खड्काको उपचारका क्रममा मृत्यु भएको छ । मंगलबार राती करिब साढे १२ बजेतिर तुलसीपुर उपमहानगरपालिका ४ मजवा फुलेखाली चोकमा बसीरहेको अवस्थामा आपसी विवाद हुँदा चक्कु प्रहारबाट गम्भीर घाइते भएका खड्काको भारतको लखनउमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।

मृतक खड्काको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पश्चात थप उपचारको लागी नर्सिङ होम नेपालगंज बाँके रिफर गरिएको भएतापनि त्यहाँ पनि उपचार सम्भव नभएपछि भारतको लखनउ स्थित क्रिसियन अस्पतालमा उपचारका क्रममा बुधबार बेलुका करिब सवा ६ बजेतिर मृत्यु भएको अस्पताललाई उद्धत गर्दै प्रहरीले जनाएको छ ।

त्यस्तै तुलसीपुर ४ निवासी २४ वर्षीय गोरखलालमाथी चक्कु प्रहार गर्ने तुलसीपुर ४ बस्ने अन्दाजी २१ वर्षीय पवन केसी र सोही ठाउँ निवासी १८ वर्षीय झक्कु वलीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भैरहेको प्रहरीले बताएको छ । साथै विकास पुनलाई भने आवश्यक सोधपुछ पछि छोडिएको प्रहरीले जनाएको छ । अहिले मृतक खड्काको शवलाई पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शव गृहमा राखिएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ ३१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस