काठमाडौ, १८ असार । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
कांग्रेसले बुधबार बिहान ९ बजे सभापति शेरबहादुर देउवाको निजी निवास, बुढानीलकण्ठमा बस्ने गरि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो । उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति हुने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
कांग्रेस र एमालेबीच नयाँ गठबन्धन बनाउने सहमतिपछि कांग्रेसले सो सहमतिको अनुमोदनका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको बताइएको छ ।
देउवाले बोलाए विपक्षी दलको बैठक
नेपाली कांग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा प्रतिपक्षमा रहेका दलहरूको बैठक बोलाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिपक्ष दलको बैठक बोलाएका हुन् । मंगलबार साँझ देउवा निवास बूढानीलकण्ठमा बस्ने गरि देउवाले बैठक बोलाएका छन् ।
कांगेसले राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चालगायत दललाई बैठकमा बोलाएको बताइएको छ । बैठकमा कांग्रेस र एमालेबीच नयाँ गठबन्धन बनाउने सहमति बनेपछि नयाँ सरकारमा सहभागी हुन आग्रह गरिने बताइएको छ ।