२०८३ बैशाख ८ गते मङ्गलवार | 2026 April 21st Tuesday

दाङको दङ्गीशरणमा थारु रैथाने खाना महोत्सव हुने

दाङ, २३ माघ । दाङको दङ्गीशरणमा दुई दिने थारु रैथाने खाना महोत्सव हुने भएको छ । मटावाँ, बरघर, भलमन्सा महासङ्घको आयोजनामा दङ्गीशरण गाउँपालिका ३ स्थित चखौरामा रहेको थारू सांस्कृतिक सङ्ग्रहालयमा माघ २६ र २७ गते दुई दिने अन्तर प्रदेशस्तरीय सांस्कृतिक तथा रैथाने खाना महोत्सव हुन लागेको हो ।

थारू भाषा, कला, संस्कृतिको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले दुई दिने महोत्सव आयोजना गर्न लागिएको मटावाँ, बरघर, भलमन्सा महासङ्घका केन्द्रीय अध्यक्ष एवं लुम्बिनी प्रदेशको पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले जानकारी दिएका हुन । ‘हाम्रो संस्कृति, हाम्रो सान, संस्कृति संरक्षणले बढ्छ देशको मान’ भन्ने मूल नारासाथ आयोजना हुन लागेको महोत्सवको उदघाटन पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्नुहुने उनले बताएका हुन ।

महोत्सवमा दाङ र नवलपरासीको थारू समुदायको बर्का नाच, कैलालीको मुङ्ग्रहवा र चितवनको नाच प्रस्तुत हुने अध्यक्ष चौधरीले जानकारी दिएका हुन । यस्तै मघौटा, छोक्रा, हुर्डुंग्या लगायत चार दर्जनभन्दा बढी नाच प्रस्तुत हुने उनले जानकारी दिएका हुन । यस्तै, महोत्सवमा सांस्कृतिक प्रतियोगिता एवम् थारू लगायत विभिन्न जातजातिको रैथाने परिकारको प्रदर्शनी रहनेछ ।

थारू परिकारमा ढिक्री, अनदी चामलको भात, रोटी, अनदीको झोल, सुंगुरको सेकुवा, सिन्कीका परिकार, आलुको अचार लगायत जनजातिहरूको रैथाने परिकार बिक्री तथा वितरणका लागि राखिने उनले जानकारी दिएका हुन । सोहीअनुसार थारू भाषाको विभिन्न पुस्तक, पत्रपत्रिकाहरू, थारू हस्तकला लगायत बिक्री तथा प्रदर्शनीका लागि राखिने अध्यक्ष चौधरीले बताएका हुन । महोत्सवमा उत्कृष्ट सांस्कृतिक प्रदर्शन गर्ने पहिलो, दोस्रो र तेस्रोलाई आकर्षक पुरस्कारका साथै सहभागी सबै सांस्कृतिक टोलीलाई सान्त्वना पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २०८१ माघ २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस