दाङ, १० असार । शान्तिनगर गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि कुल ४८ करोड ९८ लाख ५३ हजारको बजेट प्रस्तुत गरेको छ । मंगलबार आयोजित गाउँसभामा उपाध्यक्ष मेमा कुमारी बुढाथोकीले बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।
बजेटमा चालू खर्चतर्फ ३२ करोड ४४ लाख (६६.२२ प्रतिशत) र पूँजीगत खर्चतर्फ १६ करोड ५४ लाख (३३.७८ प्रतिशत) विनियोजन गरिएको छ ।
गाउँपालिकाले शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण, कृषिको व्यवसायीकरण, रोजगारी सिर्जना, महिला सशक्तीकरण र सूचना प्रवाहलाई प्राथमिकतामा राखेर बजेट निर्माण गरेको छ ।
बजेटमार्फत शान्तिनगरमा सरकारी सेवा एउटै भवनबाट दिने गरी तीन करोड रुपैयाँ विनियोजन गरिएको छ भने स्थानीय सडक कालोपत्रे, विद्यालय भवन निर्माण, आवास सुधार, स्वच्छ खानेपानी, महिला तथा बालबालिका सशक्तीकरण, स्वास्थ्य सामग्री खरिद लगायतका कार्यक्रम समावेश गरिएका छन् ।
गाउँपालिकाले संघीय र प्रदेश सरकारबाट करिब ४२ करोड ७० लाख रुपैयाँ अनुदान प्राप्त हुने अनुमान गरेको छ भने बाँकी रकम आन्तरिक आम्दानी र बैंक मौज्दातबाट व्यहोर्ने बताइएको छ ।
संघ, प्रदेश, स्थानीय तह र साझेदार निकायहरूसँग सहकार्यमा केही महत्वाकांक्षी योजना सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ ।