२०८३ बैशाख ४ गते शुक्रवार | 2026 April 17th Friday

तुलसीपुर उपमहानगरपालिकाको बजेट घट्यो

दाङ, १० असार । तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि साढे २ अर्ब ६ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । मंगलबार उपप्रमुख श्यानी चौधरीले नगरसभाको १७औं अधिवेशनमा बजेट प्रस्तुत गरेकी हुन् ।

यो बजेट गत वर्षको तुलनामा झन्डै १ करोड रुपैयाँ कम हो । चालु आर्थिक वर्ष २०८१/८२ मा उपमहानगरपालिकाले २ अर्ब ७ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको थियो ।

बजेटमा चालु र पूँजीगत खर्च स्पष्टरूपमा छुट्याइएको छैन । स्रोतका अनुसार समयमै योजना पेश नगरिएकाले बजेट निर्माणमा असर परेको हो । नगरका वडाध्यक्षहरूबाट अपेक्षित समयमै कार्यक्रम नआएकाले यसपटक प्राथमिकताको आधारमा मात्र बजेट तयार पारिएको र आवश्यक परे हिउँदे अधिवेशनमा बजेट थपिने स्रोतले जनाएको छ ।

उपलब्ध विवरणअनुसार बजेटको ठूलो हिस्सा—झन्डै ६५ प्रतिशत—चालु खर्चतर्फ छुट्याइएको छ । चालु तर्फ १ अर्ब ३४ करोड बजेट छुट्याइएको छ भने पूँजीगततर्फ ३२ प्रतिशत अर्थात् ६७ करोड ९९ लाख मात्रै विनियोजन गरिएको छ । विकास निर्माणका लागि विनियोजन गरिएको बजेट अत्यन्त न्यून रहेको बजेट निर्माणमा संलग्न कर्मचारीको भनाइ छ ।

स्रोतका अनुसार बजेटमा गत वर्षको तुलनामा खासै नयाँ कार्यक्रम समावेश गरिएको छैन । तथापि, उपमहानगरका १९ वटै वडाका लागि गौरवका योजनाका रूपमा प्रत्येक वडामा ५०–५० लाख गरी ९ करोड ५० लाख विनियोजन गरिएको छ । वडाध्यक्षहरूका लागि थप १ करोड ३० लाख बजेट वितरण गरिने बताइएको छ, जसले गर्दा वडाले खर्च गर्न पाउने रकम केही बढेको छ ।

नगरपालिकाले आफ्नै लागत सहभागितामा काम गर्न चाहनेका लागि ३ करोड बजेट छुट्याएको छ । कालोपत्रे सडक मर्मतका लागि २ करोड २० लाख विनियोजन गरिएको छ, जसमा आधा बजेट सडक बोर्डबाट प्राप्त हुने बताइएको छ ।

शिक्षा क्षेत्रका लागि कुल बजेटको २९.१७ प्रतिशत अर्थात् ६० करोड २८ लाख विनियोजन गरिएको छ । तर, स्रोतका अनुसार उक्त रकम विद्यालय सञ्चालन तथा शिक्षक तलबमा खर्च हुने भएकाले नयाँ कामको सम्भावना न्यून देखिन्छ । तुलसीपुरमा हाल ८० वटा सामुदायिक विद्यालयहरू छन् । उपप्रमुख चौधरीले नगरसभामा कुल १७ पृष्ठ लामो बजेट दस्तावेज प्रस्तुत गरेकी हुन् ।

प्रकाशित मिति : २०८२ असार १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस