कल्पना गर्नुहोस्, तपाईं नाम्चे बजारको एउटा चिया पसलमा चिया पिउदै हुनुहुन्छ, अनि तपाईंको आँखामाथि उभिएको छ, गौरवशाली सगरमाथाको हिमाली मुकुट । अब त्यो हिमाली मुकुट बिस्तारै हराउँदै गएको कल्पना गर्नुहोस् । नेपालका हिमालयहरू, जुन हाम्रो पानी,वन्यजन्तु, र जीविकोपार्जनका मूल स्रोत हुन्, त्यो अहिले जलवायु परिवर्तनका कारण गहिरो संकटमा परेका छन् । हिमनदीहरू पग्लिँदै छन्, मौसम अनियमित बन्दै गएको छ, र वनजंगल क्षय हुँदै गइरहेका छन् । यी सबैले पहाड, खेतीपाती र सहरको जनजीवनमा असर पुर्याउन थालिसकेको छ ।
नेपालका हिमनदीहरू चिन्ताजनक गतिमा हराउँदै छन् । ICIMOD का अनुसार सन् १९०१ यता हिमालय क्षेत्रमा १.८ देखि २ डिग्री सेल्सियससम्म तापमान वृद्धि भइसकेको छ, जसले विश्वको औसत तापमान वृद्धिलाई समेत पार गरिसकेको छ । सन् २०२५ मा प्रकाशित Nature Climate Change को एक अध्ययन अनुसार, यदि हरितगृह ग्यास उत्सर्जन अझै उच्च दरमा रह्यो भने, सन् २१०० सम्म नेपालले आफ्नो ५० देखि ६५% हिमनदी आयतन गुमाउन सक्छ । खुम्बु क्षेत्रमा मात्र सन् १९८५ देखि अहिलेसम्म १२% हिमनदी हराइसकेको छ । कोशी, गण्डकी, कर्णालीजस्ता नदीहरू, जुन हाम्रो सिंचाइ र जलविद्युतको मेरुदण्ड हुन्, यी सबै हिमनदीको पग्लिएको पानीमा भर पर्छन् । अहिले पानीको बहाव अस्थायी रूपमा बढे पनि Journal of Hydrology (2023) अनुसार सन् २०६० सम्ममा यसमा १५ देखि २५% गिरावट आउने सम्भावना छ । यसैबीच, हिमतालहरू बढ्दै गइरहेका छन्, सन् १९९० यता च्छो रोल्पाको पानीको आयतन १४०% बढेको छ, जसले बाढीको गम्भीर खतरा उत्पन्न गरेको छ ।
जलवायु परिवर्तनले नेपालमा मौसमलाई पनि थप अनिश्चित बनाइरहेको छ । गत वर्ष हिउँको तह २५% सम्म पातलो थियो, मनसुनको चाल अब कहिले खडेरी त कहिले एक्कासि भारी वर्षामा रूपान्तरण हुन थालेको छ । सन् २००० यता वर्षाको तीव्रता २०% ले बढिसकेको छ। सन् २०२३ को बागमती बाढीमा मात्र एकै दिन १८० मिलिमिटर वर्षा भयो । पहिरो र वन डढेलो पनि तीव्र रूपमा बढिरहेका छन् । सन् २०२३ मा १,३०० भन्दा बढी पहिरोले १७० जनाको ज्यान लियो, अनि मनास्लु क्षेत्रमा २,५०० हेक्टर जंगल जलेर नष्ट भयो ।
जसरी अन्य पक्षहरू प्रभावित छन्, त्यसरी नै हाम्रो जैविक विविधता पनि संकटमा परेको छ । सन् २०२५ को एक अध्ययन अनुसार, ३,५०० मिटर माथिका बालीहरू फुल्ने समय प्रत्येक वर्ष १.१ दिनले अगाडि सर्दैछ । अन्नपूर्ण क्षेत्रमा वन आवरण सन् २००० यता ३.८% ले घटिसकेको छ, र उच्च हिमाली घाँसेमैदानहरू हराउँदै गएका छन् । स्नो लेपर्ड (हिमचितुवा) ले सन् २०५० सम्ममा आफ्नो ४०% वासस्थान गुमाउन सक्छ । कृषिमा पनि क्षति भइरहेको छ, जुम्लामा कोदोको उत्पादन १५% ले घटेको छ, पानीको अभावका कारण हुम्लामा जौको उत्पादन १०% ले घटेको छ । अर्कोतर्फ, पूर्वाधार विकास ८% ले बढ्दा प्राकृतिक आवास तथा पारिस्थितिक प्रणाली अझै थप विभाजित हुँदैछन् ।
नेपालभरिका मानिसहरू यो संकटको भार महसुस गरिरहेका छन् । हाम्रो अर्थतन्त्रको मेरुदण्ड कृषि जसले ६०% जनसंख्याको जीवनयापनमा सहयोग पुर्याउँछ,त्योअसहज अवस्थामा छ । पर्यटनसमेत प्रभावित भएको छ, लाङटाङ क्षेत्रमा पदयात्रीहरूको संख्यामा २०१९ यता ८% गिरावट आएको छ । तराईमा २०२३ मा गर्मीका लहरहरूले काम गर्ने समय १२% ले घटाइदिएको छ । मुगुजस्ता क्षेत्रमा महिलाहरूलाई दैनिक घण्टौँ हिँडेर पानी ल्याउनुपर्छ, जसले आम्दानी र हेरचाहको समय खोसिरहेको छ ।
यस्तो कठिन परिस्थितिमा पनि नेपालीहरू सक्रिय रूपमा अगाडि बढिरहेका छन् । मुस्ताङका किसानहरू हिम स्तूपा बनाएर हरेक वर्ष १८ लाख लिटर पानी संचित गरिरहेका छन् । जल तथा मौसम सम्बन्धि पूर्वसूचना प्रणालीले बाढीजन्य क्षति २५% ले घटाउन सहयोग गरेको छ । राष्ट्रिय अनुकूलन योजना मार्फत ४ लाख किसानहरूलाई जलवायु-प्रतिरोधी बालीहरू उमार्न सहयोग पुगेको छ । सामुदायिक वनहरू अहिले २२ लाख हेक्टर फैलिएका छन्, जसले ४% हराएका वनहरू पुनः हरियाली बनाएका छन् ।
तैपनि, यो संकटको स्तर हेर्दा अझै धेरै सहयोग आवश्यक छ । अहिले NASA ले नेपालका ८५% हिमनदीहरूलाई प्रत्यक्ष अनुगमन गरिरहेको छ, र Green Climate Fund ले २०२३ मा ४५ मिलियन अमेरिकी डलर सहयोग दिएको थियो । तर UNDP अनुसार,प्रभावकारी रूपमा अनुकूलन गर्न नेपाललाई हरेक वर्ष लगभग ९०० मिलियन अमेरिकी डलर चाहिन्छ । हाम्रा अधिकांश नदीहरू भारत र चीनबाट उद्गम हुने भएकाले क्षेत्रीय सहकार्य अत्यावश्यक छ। र, विश्वस्तरमा हरितगृह ग्यास उत्सर्जनमा तुरुन्त गिरावट ल्याइनुपर्छ । विश्वव्यापी कार्बन डाइअक्साइड उत्सर्जनमा नेपाल योगदान केवल ०.०३% मात्र भए पनि हामीले अत्यधिक असर सहनुपरेको छ ।
हाम्रो हिमालहरू केवल हेर्नलायक दृश्य मात्रै होइनन्, उनीहरू हाम्रो अस्तित्व, हाम्रो अर्थतन्त्र, र हाम्रो भविष्य हुन् । हामीले द्वन्द्व, भूकम्प र बाढी जस्ता विपद् पार गरिसकेका छौं । यो संकट पनि सामना गर्नेछौं । तर, यसको लागि तात्कालिक कदम, दीर्घकालीन लगानी, र विश्वव्यापी एकताको खाँचो छ ।