दाङ, २३ असार । पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्रको आयोजनामा हेमन्तपुर, दाङमा एक दिने “जैविक मल तथा विषादी बनाउने तालिम” सम्पन्न भएको छ ।
केन्द्रका अध्यक्ष डिल्लि बहादुर रावतको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका आर्थिक समितिका संयोजक तथा वडा नं. १८ का अध्यक्ष माधव वलीकाे प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हाे ।
कार्यक्रमका प्रमुख अतिथि वलीले रासायनिक सामग्रीको बढ्दो प्रयोगका कारण माटोको उर्वरता घटिरहेको, पर्यावरणीय सन्तुलनमा समस्या देखिएको र मानव स्वास्थ्यमा समेत असर परिरहेको सन्दर्भमा यस्तो तालिम आवश्यक भएको बताएका हुन ।
कार्यक्रममा प्रशिक्षक प्रकाश श्रेष्ठले सहभागीहरूलाई जैविक मल र विषादीको सैद्धान्तिक र प्रयोगात्मक पक्षबारे विस्तृत जानकारी दिएका हुन । तालिम सहजिकरण संस्थाकी सचिव मेनका शर्माले गरेका थिए । स्थानीय स्तरमै जैविक विकल्पको प्रवर्द्धन गरी दीगो कृषि प्रणालीलाई बलियो बनाउने उद्देश्यले तालिम आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।
