२०८३ बैशाख ३ गते बिहिवार | 2026 April 16th Thursday

ट्राफिक प्रमुख शाहीको तीज गीत ‘परिछौ गमक्क’ सार्वजनिक

दाङ, २० साउन । ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख सई नरेन्द्र शाही अब गायकको भूमिकामा देखिएका छन् । तीजको अवसर पारेर शाहीले पहिलो पटक सार्वजनिक गरेको मौलिक तीज गीत ‘परिछौ गमक्क’ अहिले चर्चामा छ।

शाहीकै शब्द तथा संगीतमा तयार पारिएको यस गीतमा लोकप्रिय गायिका पूर्णकला बिसीले शाहीसँगै स्वर दिएकी छन् । तीजको सांस्कृतिक र पारिवारिक भावनालाई समेटिएको गीतमा सरिता दनकुटी र विरेन्द्र सिंहको अभिनय देख्न सकिन्छ । उनीहरूले गीतको कथा र भावनालाई प्रभावकारी ढंगले अभिव्यक्त गरेका छन् ।

गीतको निर्देशन मदन खड्काले गरेका छन् भने, छायांकन सरोज शाही र सम्पादन अनिल राणाले गरेका हुन् । गीतको छायांकन, सम्पादन र निर्देशन पक्षमा पनि सशक्त प्रस्तुति देखिएको छ ।

शाहीले आफ्नो अफिसियल युट्युब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरेका हुन् । भिडियो सार्वजनिक सँगै सामाजिक सञ्जालमा दर्शकहरूको उत्साहजनक प्रतिक्रिया आउन थालेको छ ।

गायकका रूपमा यो शाहीको पहिलो औपचारिक प्रयास भए पनि गीतको शब्द, संगीत र समग्र प्रस्तुति हेर्दा उनी भविष्यमा पनि यस्ता सिर्जनामा सक्रिय रहने संकेत मिलेको छ ।

प्रकाशित मिति : २०८२ साउन २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस