२०८३ असार १० गते बुधवार | 2026 June 24th Wednesday

अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचन पुस ९ गते

दाङ, २९ मंसिर । अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था, तुलसीपुर उपमहानगरपालिका–३, ८ र ९ को निर्वाचन–२०८२ यहीँ पुस ९ गते हुने भएको छ । निर्वाचन समितिले आज एक कार्यक्रमबीच विस्तृत निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो ।

निर्वाचन संयोजकका अनुसार मतदाता नामावली २०८२ पुस १ गते बिहान ११ बजे प्रकाशन गरिनेछ । सोही दिन दिउँसो १२ बजेदेखि ३ बजेसम्म मतदाता नामावलीमाथि दाबी–विरोध गर्न सकिने व्यवस्था गरिएको छ । अन्तिम मतदाता नामावली पुस २ गते बिहान ११ बजे सार्वजनिक गरिने छ ।

उम्मेदवारको मनोनयन दर्ता पुस ३ गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ भने उम्मेदवारको नामावली सोही दिन बेलुका ५ बजे प्रकाशन गरिनेछ । उम्मेदवारको नामावलीमाथि पुस ४ गते बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म दाबी–विरोध गर्न सकिनेछ ।

संशोधित उम्मेदवार नामावली पुस ४ गते दिउँसो २ बजे प्रकाशन गरिने छ । सोही दिन दिउँसो २ बजेदेखि ४ बजेसम्म मनोनयन पत्र फिर्ता लिन सकिने र अन्तिम उम्मेदवार नामावली बेलुका ५ बजेभित्र सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ । उम्मेदवारहरूलाई पुस ५ गते बिहान ८ बजेदेखि १० बजेसम्म चुनाव चिन्ह प्रदान गरिने छ ।

मतदान पुस ९ गते बिहान ७:३० बजेदेखि दिउँसो ४ बजेसम्म तुलसीपुर–९ स्थित थर्कुडाँडा शिव मन्दिर प्राङ्गणमा सञ्चालन हुने छ । मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु गरिने र मतगणना तुलसीपुर–८ दोघरेस्थित उद्योग वाणिज्य संघको सभाहलमा हुने जनाइएको छ ।

मतदानका लागि अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको फोटोसहितको मतदाता परिचय पत्र वा नेपाल सरकारद्वारा जारी गरिएको फोटोसहितको कुनै एक परिचय पत्र—नागरिकता, राष्ट्रिय मतदाता परिचय पत्र, सवारी चालक अनुमति पत्र, पासपोर्ट, जग्गाधनी प्रमाणपत्र वा नगर सेवा उपभोग कार्ड-अनिवार्य रूपमा ल्याउनु पर्ने छ  ।

निर्वाचन कार्यक्रमका क्रमसंख्या १ देखि १० सम्मका सम्पूर्ण कार्यक्रम खानेपानी संस्थाको कार्यालयमै सञ्चालन हुने निर्वाचन संयोजकले जानकारी दिएका छन् । कार्यक्रम सार्वजनिक समारोहमा वडाध्यक्ष, स्थानीय युवा, बुद्धिजीवी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०८२ मङ्सिर ३० गते सोमवार
प्रतिक्रिया दिनुहोस