
घोराही उपमहानगरपालिका ९ स्थित नरदेवी मावि तेघरामा पूर्व विद्यार्थी वन्दना शाहले विद्यालयलाई १५ लाख बराबरको शैक्षिक सामग्री हस्तान्तरण गरेकी छन् । विद्यालयबाट २०५८ सालमा प्रवेशिका परीक्षा उत्तीर्ण गरेकी शाहले आफूले अध्ययन गरेको विद्यालयका लागि केही गरौँ भन्ने सोचका साथ सहयोग गरेको बताइन् ।
बालबालिकाको शैक्षिक तथा खेल क्षेत्रको विकासमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ किन्डर हिल नेपाल संस्था मार्फत बिहीबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी सामग्री हस्तान्तरण गरिएको हो । बास्केट बलको कोर्ड निर्माण , टेबल टेनिसका सामग्री, भलिबल, फुटबल तथा शारीरिक व्यायामका सामग्रीहरू विद्यालयका प्रधानाध्यापक कमल खड्का र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिमबहादुर केसीलाई हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा किन्डर हिल नेपालका अनुपविक्रम शाहले नेपालका बिभिन्न विद्यालयहरूमा सहयोग गर्ने क्रममा आज घोराही ९ मा रहेको नरदेवी मावि तेघरामा यसखालको सहयोग हस्तान्तरण गरिएको र यसबाट विद्यार्थीहरूको अतिरिक्त क्रियाकलापको विकासमा टेवा पुग्ने बताए । २०१३ सालमा स्थापना भएको नरदेवी मावि तेघरामा ६ कक्षासम्म अंग्रेजी माध्यमबाट पढाइ हुने गरेको छ । १
२ कक्षा सम्म पढाइ हुने विद्यालयमा ६ सय बढि विद्यार्थीहरूले अध्ययन गरिरहेका छन् । विद्यालय व्यवस्थापन समितका अध्यक्ष खिमबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक राजेन्द्रप्रसाद भट्टराईले गरेका थिए ।