दाङमा कार र मोटरसाइकल एक आपसमा ठोक्किँदा २ जना घाईते भएका छन् । शनिबार बेलुका करिब ६ बजेतिर तुलसीपुरबाट दुधरास तर्फ गइरहेको से ६ प ८९७८ नम्बरको मोटरसाइकल र घोराहीबाट तुलसीपुर तर्फ आउँदै गरेको रा १ च १३०६ नम्बरको कार एक आपसमा ठोक्किएका हुन् ।
दुर्घटनामा परेर घाईते हुनेमा कैलाली घर भई हाल दुधरासको सिमेन्ट उद्योगमा मजदुरी गर्दै आएका मोटरसाइकल चालक ३५ वर्षीय मानसिंह राना र मोटरसाइकलको पछाडि सवार ३२ वर्षीय मुकेश चौधरी रहेको प्रहरीले जनाएको छ । घाईते दुवैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
घाइतेमध्ये दुवैको अवस्था मध्यम रहेको र कार चालक रोल्पाको रुन्टीगढी गाउँपालिका ५ का तिल बहादुर बूढासहित गाडी र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।