२०८३ साउन २४ गते आइतवार | 2026 August 9th Sunday

पत्रकार महासंघ दाङद्वारा नयाँ सदस्यता खुला

नेपाल पत्रकार महासंघ दाङ शाखाले सदस्यता खुला गरेको छ । पत्रकार महासंघ केन्द्रिय समितिको निर्देशन अनुसार महासङ्घको नयाँ सदस्यता खुला गरेको हो । महासंघ दाङ शाखाको आज बुधवार घोराहीमा बसेको बैठकले नयाँ सदस्यता खुला गरेको हो । नयाँ सदस्यताका लागी फाराम बुझाउन यही माघ २५ गतेसम्मको समय निर्धारण गरेको छ ।

सदस्यता फाराम भर्दा रीतपूर्वक भरेको आवेदन फारम, हालसालै खिचेको दुई प्रति पासपोर्ट साइेजको फोटो, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, आवद्ध सञ्चार संस्थाको नियुक्ति पत्र, कार्यरत सञ्चार संस्थाको सिफारिस पत्र, अनलाइनको हकमा सिफारिस पत्रका साथ अनलाइन दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि, दुई वर्षदेखि पत्रकारितामा क्रियाशील रहेको प्रमाणित हुने समाचार प्रकाशन, प्रसारण गरेको प्रमाणसहितका सामग्री र कम्तिमा प्रविणता प्रमाणपत्र तह वा १२ कक्षा उत्तीर्ण गरेको शैक्षिक प्रमाणपत्रको प्रतिलिपि आवश्यक पर्ने महासंघ दाङका सचिव आर.के शीतलले जानकारी दिए ।

महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा बसेको बैठकले नेपाल पत्रकार महासंघ केन्द्रिय समितिको ‘सुरक्षित मिडिया परियोजना’ अन्तरगत स्थानीय तहको योजना तर्जुमा प्रक्रियालाई समावेशी बनाउन सञ्चार क्षेत्रको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । साथै बैठकले यही माघ १ गते कास्कीको पोखरामा भएको विमान दुर्घटनामा परि नेपाल पत्रकार महासङ्घका केन्द्रिय सदस्य त्रिभुवन पौडेलको निधन भएकाले मृतकको आत्माको चिरशान्तिको कामना सहित परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ ।

प्रकाशित मिति : २०७९ माघ ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस