२०८१ माघ ५ गते शनिवार | 2025 January 18th Saturday

दलित युवासँग प्रेममा रहेको भन्दै बुबाले गरे आफ्नै छोरीको हत्या

दाङ, १० माघ । दलित युवासँग प्रेममा रहेको भन्दै १५ वर्षिया छोरीको हत्या गरेको आरोपमा बुबालाई प्रहरीले पक्राउ गरेको छ । बाराको फेटा गाउँपालिका १ त्रिवेणी टोलका हरिन्द्र महतोले आफ्नै छोरी कोशिला कुमारीको हत्या गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

महतोले गत साउन ११ मा मामाघर बस्दै आएकी छोरी कोशिलालाई पर्साको जगरनाथपुर गाउँपालिकाको सुपौलिया पुल नजिकै इमृतिया खोला किनारमा हत्या गरेर शव फालेको प्रहरीले बताएको छ । कोशिलाको शव पर्सा प्रहरीले साउन १३ गते फेला पारेको थियो । शरीर र टाउँको छुट्टा छुट्टै गरी ५० मिटरको दुरीमा फालिएको अवस्थामा कोशिलाको शव फेला परेको थियो । जसको पहिचान करिब २० दिन अघि मात्रै भएको बारा प्रहरीले जनाएको छ ।

साउन १३ मा प्रहरीले शव फेला पारेपनि त्यसको पहिचान भने हुन सकेको थिएन । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कोमल शाहका अनुसार शवको बारेमा कुनै जानकारी नपाएपछि केसलाई थाती राखिएको थियो । तर, करिब साढे ५ महिनादेखि छोरी बेपत्ता रहेकोबारे स्थानीयले प्रहरीलाई खबर गरेपछि सोधपुछ गर्दै जादा महतोले छोरीको हत्या गरेको स्वीकार गरेका शाहले बताए ।

कोशिलाको शव पहिचान भएपछि बुबा महतोलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान सुरु गरिएको र विस्तृत जानकारी आउन बाँकी रहेको पनि शाहले बताए ।

प्रकाशित मिति : २०८० माघ १० गते बुधवार
प्रतिक्रिया दिनुहोस