दाङ, ७ चैत । नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद अध्ययन संस्थान मातहतको केन्द्रीय आयुर्वेद विद्यापीठ (बिएएमएस) कलेज बेलझुण्डी दाङमा स्वतन्त्र विद्यार्थी सङ्गठनले फेरि प्रशासनमा तालाबन्दी गरेको छ । बिएएमएस कलेजमा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक भविष्यमाथि निरन्तर खेलवाड हुँदै आएको भन्दै विद्यार्थीहरूले तालाबन्दी गरेका छन्। विभिन्न ६ वटा मागहरू राखेर प्रशासनमा गत फागुन २९ गतेदेखि स्वतन्त्र विद्यार्थी युनियन केन्द्रीय आयुर्वेद विद्यापीठले तालाबन्दी गरेको छ ।
शिक्षण अस्पताल तत्काल सुचारु गर्नुपर्ने, धन्वन्तरि र सरस्वतीको मूर्ति तत्काल निर्माण गर्नु पर्ने, पुस्तक, शैक्षिक सामाग्रीहरू खरिद तथा इन्टरनेटको व्यवस्था तत्काल गर्नुपर्ने, स्कलरसिपका विद्यार्थीहरूको इन्टर्नसिपको भत्ता ६ महिना पुगिसक्दा पनि नपाएको हुँदा तत्काल उपलब्ध गराउनुपर्ने, लगायतका माग राख्दै गत फागुन २९ गतेदेखि तालाबन्दी गरिएको हो ।
विद्यार्थीहरूले पाउनुपर्ने आधारभूत कुराहरूको हकहितको लागि बाध्य भएर तालाबन्दी गरेको आयुर्वेद विद्यापीठका स्ववियु सचिव गणेश पौडेलले बताए। उनले भने, ‘विद्यार्थीहरूको माग जोडिएको विषय भएको हुँदा तालाबन्दी गर्न बाध्य भयौँ । कलेज सञ्चालनको लागि आफ्नै शिक्षण अस्पताल हुनुपर्छ। तर, अहिलेसम्म त्यो भएको छैन्। अहिले हामीहरू बाहिर भाडामा गएर सिक्दै आएका छौँ ।’
उनका अनुसार आयुर्वेद विद्यापीठमा पढ्दै आएको र सिक्नको लागि प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीमा जानुपर्ने हुन्छ । यदि त्यहाँ कुनै कारणले सम्झौता बिग्रिएको खण्डमा यहाँ पढ्न विद्यार्थीहरूले सिक्न नपाउने हुँदा पटक-पटक शिक्षण अस्पतालको माग उठाउँदै आइरहेको उनको भनाइ छ । उनले ४ जना स्कलरसिपका आएका विद्यार्थीहरूले मासिक रूपमा २१ हजार ४ सय पाउनु पर्नेमा ६ महिना बितिसक्दा पनि अहिलेसम्म नपाएको भन्दै त्यो तत्काल पाउनुपर्ने आफूहरूको माग रहेको पनि बताए।यस्तै, यो वर्षमा पुस्तक खरिद गर्नुपर्नेमा अहिलेसम्म कति पनि नभएको उनको भनाइ छ । उनले भने, ‘अहिले अस्पताल भन्ने गरेको भए तापनि यो देखाउनको लागि मात्र हो। हामीले यहाँ पढेर बिजौरी सिक्न जानुपर्ने बाध्यता छ।’
यस्तै विद्यार्थी कल्याणकारी कोषको रकम र विद्यार्थी प्राथमिक उपचारबाट लिइने रकमबाट स्वास्थ्य बिमा गर्नुपर्ने, विद्यापीठमा बुझाउने शैक्षिक शुल्कहरुलाई विद्यापीठबाटै ई-बैंकिङ माध्यमबाट बुझाउने प्रबन्ध गर्नुपर्ने र नवौँ ब्याजको कक्षा तालिका साढे १० बजेदेखि सुरु हुनुपर्ने माग राख्दै तालाबन्दी गरिएको छ ।