२०८१ माघ २८ गते सोमवार | 2025 February 10th Monday

शिक्षक महासंघको निर्णयविरुद्धमा सबै प्रदेशका शिक्षक संगठन

दाङ, १९ चैत । शिक्षक महासंघको निर्णयलाई अस्विकार गर्दै सातवटै प्रदेशका नेपाल राष्ट्रिय शिक्षक संगठनले संयुक्त विज्ञप्ती जारी गरेको छ । शिक्षक महासंघले २०७८ सालको तथ्यांकको आधारमा सातै प्रदेशमा अधिवेशन गर्नको लागि सूचना जारी गरेपछि सातै प्रदेशका शिक्षक संगठनहरुले उक्त निर्णय अस्विकार गरेका छन् ।

सोमबार सातै प्रदेशका अध्यक्षहरुले संयुक्त रुपमा विज्ञप्ती निकालेर शिक्षक महासंघले गरेको निर्णयमा त्रुटी रहेको भन्दै उक्त निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जानकारी दिएका छन् ।

उनीहरुले अधिवेशन गर्नको लागि सार्वजनिक गरिएको तथ्यांक २०७८ रहेको भन्दै छुट हुन गएका केही प्राविधिक धारका शिक्षकका साथै २०७८ साल पश्चात नियुक्ति भएका शिक्षक, कर्मचारीहरु चुन्ने, चुनिन पाउने अधिकार हनन् भएको विज्ञप्तीमा भनिएको छ ।

त्यस्तै “नेपाल शिक्षक महासंघको विधानकाृ दफा १३ (१) घ बमोजिम स्थानीय समितिहरुले गठन पश्चात स्थानीय अधिवेशनबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिबाट मात्र जिल्ला समितिको गठनको व्यवस्था गरिएको छ । वर्तमान परिस्थितिमा नेपाल शिक्षक महासंघ सबैभन्दा बढी स्थानीय पालिकामा आवश्यक रहेको छ तर केन्द्रीय नेतृत्व हतारमा प्राप्त गर्ने कुत्सित मनसायले स्थानीय पालिकाको अधिवेशनलाई अन्यौल राखी जिल्ला समितिको गठन विधान विपरित हुन्छ ।” जारी विज्ञप्तीमा उल्लेख गरिएको छ “नेपाल शिक्षक महासंघ स्थानीय र जिल्ला समिति गठनको लागि विधिन्न जिल्लाहरुमा सहमति नजिक पुगिसकेको अवस्थालाई भाँड्ने काम भएको छ । आवद्ध सम्वद्ध संस्थाहरुको सहमति सहकार्यलाई विथोल्ने काम भएको छ ।”

त्यस्तै “नेपाल शिक्षक महासंघको अधिवेशन सहमतिमा हुन नसके लोकतान्त्रिक विधि, निर्वाचन प्रक्रियालाई अवलम्बन गर्नुपर्ने तर सो परिपत्रले लोकतान्त्रिक पद्धति निर्वाचन प्रक्रियालाई निषेध गरिएको छ ।” विज्ञप्तीमा उल्लेख छ ।

“नेपाल राष्ट्रिय शिक्षक संगठनले प्रदेश समिति अन्तर्गत रहेका जिल्ला, पालिका समितिहरुलाई सार्वजनिक भएको पत्रअनुसार सहमत नहुन निर्देशन गर्दछौं । साथै नेपाल राष्ट्रिय शिक्षक संगठन प्रदेश, जिल्ला र स्थानीय समितिका साथै संगठनका सदस्यहरुको भावना र स्प्रिटअनुसार विवेकपूर्ण भूमिका निर्वाह गर्न नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समितिको नेतृत्वलाई अपिल गर्दछौं ।” संयुक्त हस्ताक्षरबाट जारी विज्ञप्तीमा भनिएको छ ।

प्रकाशित मिति : २०८० चैत्र १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस