
दाङ, १३ वैशाख । पश्चिम दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । शान्तिनगरदेखि तुलसीपुर तर्फ आउँदै गरेको रा ५ प ९३२२ नम्बरको मोटरसाइकलले शान्तिनगर – ७ खैरेनी प्रतिक्षालय नजिक पैदलीयात्रीलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता नवचन्द्र मल्लले जानकारी दिए । घाइते मध्य एक जनाको अवस्था गम्भीर रहेको छ ।
मृत्यु हुनेमा सल्यान घर भई हाल शान्तिनगर – ७ खैरेनी बस्ने ७२ वर्षिय सम्शेर थापा (पैदलयात्री) रहेका छन् । थापाको राप्ती प्रादेशक अस्पताल तुलसीपुरमा उपचारका क्रममा करिब ६ बजेतिर मृत्यु भएको अस्पताललाई उद्धत गर्दै प्रहरीले जनाएको छ । त्यस्तै घाइते हुनेमा बबई गाउँपालिका ३ हंसपुर निवासी ३० वर्षिय मोटरसाइकल चालक कमल विक र पछाडी सवार बाँके घर भई हाल सोही ठाउँ बस्दै आएका २५ वर्षिय प्रकाश रसाइली रहेका छन् ।
घाइते मध्ये रसाइलीको अवस्था गम्भीर रहेको छ । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ भने विकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।