काठमाडौ, १८ वैशाख । शान्तिनगर गाउँपालिका ७ खैरेनीमा प्राक्टिकल एक्सन डिकोस समुन्नति परियोजनाको सहयोगमा कृषि उपज संकलन तथा बिक्री केन्द्र सञ्चालनमा आएको छ । मंगलबार एक कार्यक्रम गरी केन्द्र सञ्चालनमा ल्याइएको हो । केन्द्रको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले गाउँमा धेरै किसानहरू रहेको र उनीहरूले उत्पादन गरेको तरकारीहरूलाई बजार नपाएको अवस्थामा यो बिक्री केन्द्रले सहज बनाउने बताए । उनले आफूहरू निर्वाचित भएर आइसकेपछि विभिन्न क्षेत्रबाट गाउँपालिकाको विकासको लागि काम गर्दै आइरहेको समेत बताए ।
उनले भने,‘ यहाँका किसानहरूलाई आर्थिक रुपमा कसरी अगाडि बढाउन सकिन्छ, यहाँका किसानहरूलाई कसरी विकास गर्न सकिन्छ, जस्ता कुराहरूमा हामीले परिकल्पना गर्दै आइरहेका छौँ । त्यही अनुसार आजको यो बिक्री केन्द्र पनि एक हो ।’ यस्तै उनले तरकारी संकलन तथा बिक्री केन्द्र सञ्चालनमा आएको भन्दै किसानहरूलाई उत्पादनमा जोड दिन समेत आग्रह गरे । उनले स्थानीयहरूले उत्पादन भएको बस्तुहरू प्रयोग गर्न समेत सबैलाई आग्रह गरे । उनले यहाँका किसानहरूलाई कुनै न कुनै विषयबाट कसरी जोड्न सकिन्छ, भनेर आफू लागि रहेको भन्दै किसानहरूले उत्पादन गरेको बस्तुलाई बजारिकरण गर्ने उद्देश्यले यो सञ्चालनमा ल्याइएको समेत बताए ।
यस्तै साना किसान सहकारी संस्था धनौरीका अध्यक्ष हेमन्त कुमार योगीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष प्रेमा केसीले गाउँपालिकालाई कृषि, स्वास्थ्य, शिक्षा लगायत कुरामा अगाडि बढाउने कुरामा आफूहरू लागि रहेको बताइन् । उनले भनिन्,‘ हाम्रो पहिलो प्राथामिकता कृषिमा हुनुपर्छ, भनेर ठाउँ ठाउँमा कृषकहरूलाई भन्दै आएका छौँ । किसानहरूको लागि हामी सहयोग गर्न तयार रहेका छौँ । तपाईँहरू पनि अब आफ्नो उत्पादनमा ध्यान दिनुहोस् । ’
उनले अहिले तरकारीको अफ सिजन भएको भन्दै अहिले उत्पादन हुने तरकारीहरूको खेती गर्न सकेमा बजारिकरणमा समस्या नहुने भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरिन् । सिजनको समयमा शान्तिनगरको १, ३, ४ मा बढि व्यवसायिक तरकारी खेती हुने र अफ सिजनमा ५ र ६ ७ वडामा बढि हुने गरेको गाउँपालिकाको कृषि शाखाको भनाइ छ । गाउँपालिकामा अहिले ५२ जना किसानहरूले व्यवसायिक रुपमा तरकारी खेती गर्दै आएका छन्, भने अन्य समूहगत रुपमा हुँदै आएको छ । गाउँमा उत्पादन भएको तरकारी बिक्री गर्न समस्या भइरहेको अवस्थामा केन्द्र सञ्चालन भएपछि किसानहरू हर्षित भएका छन् । कार्यक्रममा शान्तिनगर गाउँपालिका ५ का वडाध्यक्ष ओपेन्द्र रावत, वडा नं. ७ का वडाध्यक्ष तारा बहादुर वली, समता कृषि सहकारी संस्था कासीपुरका अध्यक्ष ज्ञानेन्द्रराज शर्मा लगायत बोलेका थिए ।