
कपिलवस्तु, १२ जेठ । कपिलवस्तुमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार बिहान कपिलवस्तु–३ महिता चोक नजिकको मोडमा तौलिहवातर्फ आइरहेको लु ४४ प १३१४ नम्बरको मोटरासाइकल अनियन्त्रित भई सडकबाट केही तल खसेर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
मृत्यु हुनेमा सैनामैना नगरपालिका–५ गडवा निवासी २३ वर्षीय कुमार थारु रहेका छन् । त्यस्तै दुर्घटनामा परी एक जना गम्भीर घाइते भएका छन् । मोटरसाइकल चालक गडवा गाउँकै ३८ वर्षीय निरकुमार थारु गम्भीर घाइते भएका प्रहरीले बताएको छ ।
घाइते थारुको कपिलवस्तु अस्पताल तौलिहवामा उपचार सम्भव नभएपछि थप उपचारका लागि मेडिकल कलेज भैरहवा पठाइएको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०८१ जेष्ठ १२ गते शनिवार