२०८१ कार्तिक १७ गते शनिवार | 2024 November 2nd Saturday

जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ७ जना घाइते

काठमाडौ, २३ जेठ । डोटीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । बुधबार बिहान भीमदत्त राजमार्ग अन्तरगत जोरायल गाउँपालिका-१ खडिनामा दार्चुलाबाट धनगढीतर्फ आइरहेको सुदूरपश्चिम प्रदेश ०१-००१ ज १४८९ नम्बरको जिप दुर्घटना दुर्घटना हुँदा बालिकासहित २ जनाको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । 

दुर्घटनामा परेर जिपमा सवार महिलाको घटनास्थलमै मृत्यु भएको हो भने बालिकाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनास्थलमै मृत्यु भएकी महिलाको सनाखत हुन सकेको छैन । घाइते अवस्थामा धनगढी पुर्‍याइएकी दार्चुलाको लेकम गाउँपालिका-६ का हरिश पार्कीकी २ वर्षीया छोरी रितिकाको निसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मृतकका बुवा पार्की र आमा भावना ओड पार्की पनि घाइते छन् ।

त्यस्तै दुर्घटनामा जिप चालक बैतडीको डिलासैनी गाउँपालिका-५ का १९ वर्षीय बासुदेव नाथ, दार्चुलाको लेकम गाउँपालिका-६ बस्ने ४५ वर्षीय जगतसिंह धामी, डिलासैनी गाउँपालिका-६ का १७ वर्षीय अर्जुन लुहार, डिलासैनी-३ कि २२ वर्षीया रमिता ओड र मालिकार्जुन गाउँपालिका-४ बस्ने ७४ वर्षीया मानमति धामी पनि घाइते छन् । उनीहरूको उपचार जारी भएपनि अवस्था भने खतरामुक्त रहेको प्रहरीले जनाएको छ । जिप दुर्घटनाको कारण भने खुलेको छैन ।

प्रकाशित मिति : २०८१ जेष्ठ २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस