दाङ, ३१ जेठ । शान्तिनगर गाउँपालिका ५ कासिपुरमा वडा कार्यालयको सहयोगमा सिँचाइ पोखरी निर्माण भएपछि स्थानीयहरू खुशी भएका छन् । खेती गर्ने समयमा पानी नहुँदा निकै समस्या पाएका किसानहरूले पानी पोखरी निर्माण भएपछि धेरै राहत मिलेको बताउँछन् । पोखरी बनाउन वडाको ५ लाख र स्थानीयहरूको श्रमदानको करिब ४० बिगाहा जमिनमा सिँचाइ पुग्ने गरी निर्माण गरिएको छ । बौलाहा खोला नजिक कै पोखरी निर्माण गरिएको छ । अहिले पोखरीको पानीबाट गनार क्षेत्रका किसानहरूले धानको ब्याड राख्दैछन् ।
सिँचाइको लागि कुलाहरू भएयता पनि त्यसमा चैत महिनासम्म मात्र पानी आउँछ । पानी नहुँदा ढिलो धानको ब्याड राख्ने किसानहरूले अहिले पोखरीको पानीबाट राख्न पाउँदा धेरै खुशी लागेको स्थानीय खिमलाल वलीले बताए । उनका अनुसार पोखरीको पानीको कारण अहिले गनार क्षेत्रमा धानको ब्याड राख्दै गरेको भएयता पनि पखाल्ले क्षेत्रमा पक्की कुलो नहुँदा समस्या भइरहेको बताए । उनले भने,‘ पहिला धाराको पानीबाट धानको ब्याड राख्थ्यौँ, तर, पोखरी निर्माण धेरै सहज भएको छ । हाम्रो तिर आउने पानी पक्की कुलो नहुँदा समस्या भएको छ । बर्खामा पनि पक्की कुलो नहुँदा पानी राम्रोसँग नै आउँदैन । अब हामीलाई कुलोको आवश्यक रहेको छ ।’
उनी मात्र नभइ एक सय बढि किसानहरूलाई पोखरी निर्माण राहत दिने भएको छ । अब धानमा नभइ अन्य खेती गर्नको लागि पनि सिँचाइमा सहज हुने स्थानीय हरूको भनाइछ । पोखरीको पानी जति प्रयोग गरे त्यही आइरहने हुँदा करिब ४० बिगाहा जमिनमा सिँचाइ पुग्ने र एक सय बढि किसानलाई राहत मिल्ने पोखरी निर्माण समितिका अध्यक्ष बालकृष्ण वलीले बताए । पहिला खानेपानी धाराको पानी प्रयोग गरेर धानको ब्याड राख्ने गरेको भएयता पनि अहिले २ बिगाहा भन्दा बढि खेतमा धानको ब्याड राखिसकेको उनको भनाइ छ ।
उनका अनुसार अहिले खोलामा पानी छैन्, हाम्रो सिँचाइको आधार भनेको नै खोलाको पानी नै हो । खडेरीका कारण हामीले समयमा कहिँले पनि धानको ब्याड राख्न पाउँदैनथ्यौँ । कि खानेपानी धाराको पानी कि भने अरुको खेतमा राख्नु पर्दथ्यो । त्यही पीडालाई सम्झेर हामीले वडा कार्यालयमा समस्या बताएका थियौँ, वडाले हाम्रो कुरा सुनेर सहयोग गरेपछि पोखरी निर्माण गरिएको हो । उनले अब यो पोखरी निर्माणसँगै यहाँ किसानहरूलाई अन्य खेती गर्न समेत सहज हुन्छ । अहिले पोखरीको पानी मोटर लगाएर तान्ने गरेको भन्दै उनले २ र ३ घण्टासम्म पानी तान्न मिल्ने र जति पानी तान्यो उति नै पानी आइरहने समेत बताए ।
यता वडा कार्यालयले भने सिँचाइका कारण किसानहरूले समस्या पाइरहेको जानकारी पाएपछि पोखरी निर्माणको लागि सहयोग गरेको जनाएको छ । वडाध्यक्ष ओपेन्द्र रावतका अनुसार कासिपुर र रजघटुवामा पोखरी निर्माण गरिएको छ । जसबाट सयौँ किसानहरू लाभान्वित भएका छन् । उनले आफूहरूको काम नै जनताको सेवा गर्ने भएकाले आफ्नो प्राथामिकतामा पनि कृषि, शिक्षा, स्वास्थ्य लगायतका रहेको बताए ।