
दाङ, २३ साउन । तुलसीपुरमा एक युवकले मदिराले मातेको तालमा बोतल फोडेर त्यसको टुक्राहरू खाएपछि अस्पताल भर्ना भएका छन् । तुलसीपुर उपमहानगरपालिका ४ खाद्रेका २३ वर्षीय सन्तोष बिकले मङ्गलबार बेलुकी मदिराले मातेको बेला आफ्नै घरमा बियरको बोतल फोडेर त्यसको टुक्राहरू खाएपछि उनी अस्पताल पुगेका हुन । उनले सिसाका टुक्राहरू खाएपछि पेट तथा आन्द्रामा समस्या देखिएको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।
उनले बेलुकी साढे ७ बजेतिर घरमै मदिरा सेवन पछि बियरको बोतल फोडेर त्यसका टुक्राहरू खाएपछि छटपटाउन थालेका थिए । पेटमा पीडा भएको भन्दै उनी छटपटाउन थालेपछी आफन्तले बिकलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याएका थिए ।
तुलसीपुरमा उपचार हुन नसकेपछि उनलाई तत्कालै बाँकेको कोहलपुरस्थित मेडिकल कलेजका लागि रिफर गरिएको थियो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार उनलाई तुलसीपुरमा सामान्य उपचार पछि तत्कालै चिकित्सकले सवा ८ बजेतिर कोहलपुर रिफर गरिएको थियो । उनले किन सिसाका टुक्राहरू खाएका थिए भन्ने बारे अनुसन्धान हुन बाँकी रहेको प्रहरीले बताएको छ ।