दाङ, ७ असोज । देशकै उत्कृष्ट विद्यालयको रूपमा पुरस्कृत भएपछि मावि तुलसीपुर सेन्टरले आज तुलसीपुर बजारमा भव्य उत्सव र्याली निकालेको छ । र्यालीमा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरी, तुलसीपुर-६ का अध्यक्ष दुजमान भण्डारी, शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति, र शिक्षक अभिभावक संघका पदाधिकारीहरूको उपस्थिति थियो ।
तुलसीपुर-६ स्थित विद्यालय प्रांगणबाट सुरु भएको र्यालीले जेसिज चोक, बिरेन्द्रचोक, उपमहानगरपालिका कार्यालय हुँदै पुनः विद्यालय प्रांगणमा पुगेर सभामा परिणत भएको थियो ।
सभामा प्रमुख अतिथि तथा उपमेयर स्यानी चौधरीले विद्यालयको प्रगति र गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षक तथा अभिभावकहरूको अथक मेहनतको प्रशंसा गर्दै, विद्यालयको सफलतामा सबैको सामूहिक योगदान रहेको बताइन् ।
वडा नम्बर ६ का अध्यक्ष दुजमान भण्डारीले विद्यालयको जग्गा विवाद समाधानमा प्राथमिकता दिँदै, विवाद फिर्ता लिनका लागि प्रहरीलाई आग्रह गरे ।
कार्यक्रममा पूर्व विद्यार्थी डा. किशोर खत्रीले विद्यालयको प्राविधिक शिक्षामा भएको योगदानको प्रशंसा गर्दै, यस क्षेत्रका विद्यार्थीहरूलाई प्राविधिक शिक्षामा लाग्न प्रेरित गरे ।
प्रधानाध्यापक भागवत पौडेलले विद्यालयलाई सफल बनाउन समुदायको सहयोग महत्त्वपूर्ण रहेको उल्लेख गरे । उनले विद्यालयले स्विजरल्याण्ड सरकारको सहयोगमा आईटी विषयको प्राविधिक शिक्षा समेत प्रदान गर्दै आएको जानकारी दिए, जसमा एसईई उत्तीर्ण वा अनुत्तीर्ण विद्यार्थीहरूको लागि २४ महिनाको पाठ्यक्रम उपलब्ध छ । विशेष रूपमा बिपन्न परिवारका बालबालिकाहरूलाई लक्षित गर्दै यो शिक्षा निशुल्क प्रदान गरिएको पनि उनले बताए । साथै, प्राविधिक शिक्षामा भर्नाका लागि केही सिटहरू अझै बाँकी रहेकोले इच्छुक विद्यार्थीहरूलाई भर्ना हुन आग्रह गरे ।
मावि तुलसीपुर सेन्टरले २०८० सालको माध्यमिक शिक्षा परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्दै सार्वजनिक विद्यालयतर्फ देशभर प्रथम स्थान प्राप्त गरेको हो । विद्यालयलाई गत बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आयोजित कार्यक्रममा नगद तीन लाख रुपैयाँसहित शिल्ड, ध्वजा, र प्रमाणपत्र प्रदान गरेका थिए ।