
दाङ, १० असोज । निर्वाचनको मिति पटकपटक सारेको नेपाल पत्रकार महासंघले जिल्ला तथा प्रदेश अध्यक्षहरूको राष्ट्रिय भेला यही १९ गतेका लागि बोलाएको छ । पत्रकार महासंघका अनुसार भौतिक तथा भर्चुअल माध्यमबाट केन्द्रीय समिति, प्रदेश अध्यक्ष र जिल्ला अध्यक्षहरूको परामर्श भेलाको निर्णय अनुसार असोज १९ गते जिल्ला तथा प्रदेश अध्यक्षहरूको राष्ट्रिय भेला गर्ने निर्णय गरेको हो । महासंघ असोज १२ गते तोकिएको निर्वाचन हुन नसक्ने परिस्थिति सिर्जना भएपछि असोज १९ गते उक्त भेला बोलाएको हो । महासंघले सदस्यता विवाद समाधान गर्नका लागि पूर्वअध्यहरूलाई आग्रह गरेको छ ।
सदस्यतामा देखिएको विवादका सन्दर्भमा २७औँ महाधिवेशनबाट पारित शुद्धीकरण मापदण्डलाई आधार मानी केन्द्रीय समितिलाई दिशानिर्देशसहित विवाद समाधानमा सहजीकरण गर्न महासंघका पूर्वसभापति डा. सुरेश आचार्यको संयोजकत्वमा पूर्वसभापतिद्वय तारानाथ दाहाल, विष्णु निष्ठुरी तथा पूर्वअध्यक्षहरू धर्मेन्द्र झा, शिव गाउँले, डा. महेन्द्र विष्ट र गोविन्द आचार्यलाई आग्रह गर्ने निर्णय गरिएको महासचिव रोशन पुरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बैठकले अध्यक्ष विपुल पोख्रेल र कार्यवाहक अध्यक्ष रमेश विष्टले दिएको राजीनामालाई अनुमोदन गरेको पनि जनाइएको छ ।