
दाङ, २५ माघ । दाङको तुलसीपुरमा संचालित सर्वाधिक राशिको अध्यक्ष कप अन्तर वडा स्तरिय रनिङ फुटबल प्रतियोगिता २०८१ को उपाधि वडा नं. ६ ले जितेको छ । तुलसीपुर उपमहानगरपालिका ६ को आयोजना तथा युथ अफ तुलसीपुर र मदन भण्डारी स्पोर्ट्स क्लबको सहकार्यमा शुक्रबार सम्पन्न फाईनल खेलमा वडा न ८ लाई ४-० गोलले पराजित गर्दै वडा नं. ६ ले उपाधी जितेको हो ।
उल्लेख दर्शकले खचाखच भरिएको अरनिको मैदानमा भएको खेलमा आफ्नो दबदबाह प्रस्तुत गरेको वडा नं. ६ ले उपाधी संगै नगद २ लाख ६६ हजार ६ सय ६६ र चाँदीको रनिङ शिल्ड हात पार्यो । फाईनलमा हार ब्यहोरेको वडा नं. ८ उपबिजेतामा सिमित रहदै नगद १ लाख ६६ हजार ६ सय ६६ सहित कप, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो । प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फ वेष्ट प्लेयर खेलाडी वडा न ६ का हरिहर बुढामगर भए । उनले नगद ८ हजार तथा ट्रफी हात पारे ।
त्यस्तै वेष्ट डिफेन्स वडा न ६ का एलिस रसाईली, हाई स्कोरर वडा न ६ सागर गन्धर्व, वेष्ट किप्पर वडा न ६ कै प्रतीक सेर्पाईली, वेष्ट मिड फिल्डर वडा न ८ का राज बहादुर बस्नेत,बेष्ट कोच वडा न ६ का कमल लामिछाने भए । उत्कृष्ट सबैलाई जनही ५ हजार तथा ट्रफी प्रदान गरिएको थियो ।
यसैबिच प्रतियोगिताको समापन समारोह तुलसिपुर उपमहानगरपालिका वडा नं. ६ का अध्यक्ष तथा प्रतियोगिता मुल आयोजक समितिका संयोजक दुजमान भन्डारीको अध्यक्षता तथा लुम्बिनी प्रदेश सरकारका पुर्व अर्थ मन्त्री माननीय धन बहादुर मास्कीको प्रमुख आतिथ्य एवं तुलसीपुर उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरी र वडा न १८ का अध्यक्ष तथा नगर प्रवक्ता माधव वलीको विशिष्ट आतिथ्यमा भएको थियो ।
कार्यक्रमको संचालन नानी मैयाँ केसी वलीले गरेकी थिइन् । माघ १९ गतेदेखि संचालित प्रतियोगितामा तुलसीपुर नगरका १९ वडा मध्य १६ वडाका टिमको सहभागिता रहेको थियो ।