
दाङ, १३ जेठ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालमा भ्रष्टाचारको तेस्रो लहर सुरु भएको बताए । सोमबार नेपाल घरेलु तथा साना उद्योग महासङ्घ तुलसीपुरको आयोजनामा भएको भेटघाट कार्यक्रममा बोल्दै उनले अहिले चर्चामा रहेको भिजिट भिसा प्रकरण प्रति सङ्केत गर्दै उनले काङ्ग्रेस र एमालेको सरकार नै भ्रष्टाचारको लहर भएको दाबी गरे ।
‘उनले भने,‘ गृहमन्त्री रमेश लेखक सोझै भन्या मान्छे हुन् । हामीसँग भेट हुँदा पनि राम्रै कुरा हुन्थ्यो । मान्छे पनि अलि भद्र र बौद्धिक मान्छे लाग्थ्यो । उहाँले नै ५० लाख रुपैयाँ खानुहुन्छ भनेर सचिवले भनेपछि, कि त सचिव नै पागल भा हुनुपर्यो । होइन भने ठुलै चलखेल भएको कुरा त बाहिर आयो नि ।’
महासङ्घका अध्यक्ष लाल बहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रमको बोल्दै उनले भिजिट भिसा प्रकरण गृहमन्त्री रमेश लेखकको मात्रै मुद्दा र विषयभन्दा पनि राज्यका निकायले जनताले तिरेको करलाई लुकाएर कसरी खान्छन् र राज्यका मेकानिजम कस्ता छन भन्ने कुराको सानो प्रमाण फेला परेको बताए ।
तलदेखि माथिसम्म देश भ्रष्टाचारको दलदलमा फसेको बताउँदै उनले देशका विभिन्न ठाउँमा बन्दै गरेका र बनेका एयरपोर्टमा १० अर्ब रुपैयाँसम्म भ्रष्टाचार भएका कुरा पनि यसको ज्वलन्त उदाहरण भएको बताए । यस्तै उनले आर्थिक उत्पादन विना देश परिवर्तन गर्न सकिने बताउँदै हरेक नागरिक उत्पादनमा जोडिन आवश्यक रहेको बताए । सहजीकरण सचिव भद्र वलीले गरेका थिए ।