दाङ, ७ कार्तिक । दाङ दंगीशरण गाउँपालिका–५ देबिगन्जमा मादक पदार्थ सेवन गरेका छोराले आमा–बुवामाथि बन्चरो प्रहार गरी घाइते बनाएका छन् ।
२५ वर्षीय बीरबहादुर ओलीले बिहिबार राति करिब ९ बजे आफ्नी आमा ५५ वर्षीया कुमारी ओली र बुबा ६५ वर्षीय बेदबहादुर ओलीमाथि घरमै बन्चरो प्रहार गरेका हुन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बिनोदराज खत्रीका अनुसार दुवैको टाउकोमा चोट लागेकाे र उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको थियो । उपचारपछि दुबैजनालाई आज दिउँसो अस्पतालले डिस्चार्ज गरेको बताइएको छ ।
प्रहरीले आरोपी बीरबहादुर ओलीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान थालेको जनाएको छ ।
प्रकाशित मिति : २०८२ कार्तिक ८ गते शुक्रवार