दाङ, २२ कार्तिक । दोस्रो गोरखा कप छात्र–छात्रा फुटबल प्रतियोगिता २०८२ आजदेखि सुरु भएको छ ।
गोरखा ग्रुप प्रा.लि.को आयोजना तथा गोरखा सेकेन्डरी स्कुल तुलसीपुरको व्यवस्थापनमा सञ्चालन भएको प्रतियोगिताको उद्घाटन तुलसीपुर उपमहानगरपालिका–६ का वडा अध्यक्ष दुजमान भण्डारीले गरेका हुन ।
उद्घाटन समारोहमा बोल्दै अध्यक्ष भण्डारीले राज्यले समग्र खेलकुद क्षेत्रलाई उपेक्षा गरेको आरोप लगाएका हुन ।
उनले भने, “खेलकुद मानव जीवनको अभिन्न अङ्ग हो, स्वस्थ जीवनशैलीको आधार हो । नेपालभन्दा कान्छा देशहरूले खेलकुदकै माध्यमबाट समृद्धिको बाटो समातेका छन्, तर नेपालमा खेलकुद दिनप्रतिदिन खस्किँदै जानु राज्यको उदासीनता स्पष्ट प्रमाण हो ।”
उनले खेलकुद क्षेत्रमा हावी भएको राजनीतिले वातावरण फोहोरी बनाएको र त्यसकै कारण नेपाली खेल क्षेत्र धराशायी बनेको टिप्पणी गरे ।
कार्यक्रमका विशिष्ट अतिथि दाङ जिल्ला फुटबल संघका महासचिव लक्ष्मण बस्नेतले पनि खेलकुद राष्ट्रको सान र गौरवसँग जोडिएको क्षेत्र भए पनि तीनै तहका सरकारले यसलाई बेवास्ता गरेको बताएका हुन ।
“खेलकुदले स्वस्थ, अनुशासित र सबल युवा शक्ति तयार गर्छ, तर यसलाई बुझ्ने दृष्टिकोण फराकिलो नभएकै कारण खेल क्षेत्रले उचाइ लिन सकेको छैन,” उनले भने ।
बस्नेतले खेल क्षेत्रको विकासका लागि राज्य मात्र होइन, खेलप्रेमीहरू पनि एकजुट हुनुपर्नेमा जोड दिएका हुन ।
“सबल शरीर, अनुशासन र सशक्त विचार — खेलकुद गोरखा ग्रुपको पहिचान र आधार” भन्ने नारासहितको प्रतियोगिता गोरखा ग्रुपका अध्यक्ष विष्णु घर्तीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
सो अवसरमा गोरखा ग्रुपका उपाध्यक्ष बालकृष्ण रोकामगर, एकेडेमिक निर्देशक दुर्गा बहादुर केसी, ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी हुमबहादुर पराजुली, पूर्व राष्ट्रिय फुटबल खेलाडी सुधीर गुरुङ, गोरखा मावि तुलसीपुरका उपाध्यक्ष डोरबहादुर जिसी, गोरखा मावि घोराहीका प्रिन्सिपल मानसिंह रोका, गोरखा लालमटियाका प्रिन्सिपल बसन्त पुन मगर र गोरखा आवासीय तुलसीपुरका प्रिन्सिपल रबिन खड्कालगायतको उपस्थिति थियो ।
गोरखा सेकेन्डरी स्कुलका प्रिन्सिपल विजयमान जिएमले स्वागत मन्तव्य दिएका थियो भने कार्यक्रम सञ्चालन शिक्षक सुधान्सु गुप्ताले गरेका थिए ।