दाङ, ६ चैत । दाङको तुलसीपुर उपमहानगरपालिका – ६ बरुवा गाउँस्थित गोरखा माध्यमिक विद्यालयमा शिक्षकद्वारा विद्यार्थीमाथि कुटपिट गरिएको घटना सार्वजनिक भएको छ ।
कक्षा ११ मा अध्ययनरत छात्रा प्रतीक्षा पुरिलाई विज्ञान संकाय प्रमुख विष्णु भण्डारीले कुटपिट गरी घाइते बनाएको आरोप लागेको हो । कुटपिटका कारण पुरीको अनुहार सुन्निएको छ भने आँखाको तल्लो भागमा चोट लागेको बताइएको छ । साथै, कुटपिटपछि “यो कुरा घरमा नभन्नू, भने स्कुलबाट निकालिदिन्छु” भन्दै धम्की समेत दिएको पीडितले बताएकी छन् । विद्यालयजस्तो शैक्षिक संस्थामा शिक्षकबाटै यस्तो व्यवहार हुनु गम्भीर विषय भएको भन्दै दोषीमाथि कडा कारबाहीको माग उठिरहेको छ ।
नेपालको बालबालिका सम्बन्धी ऐन, २०७५ अनुसार विद्यार्थीमाथि कुटपिट गर्नु दण्डनीय अपराध हो । दोषी ठहर भएमा सम्बन्धित शिक्षकलाई जरिवाना, कैद वा दुवै सजाय हुन सक्छ । साथै, विद्यालय वा शिक्षा निकायले निलम्बन वा बर्खास्त जस्ता प्रशासनिक कारबाही पनि गर्न सक्छ ।
यस घटनाबारे निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न र दोषीमाथि कडा कारबाही गर्न पीडित परिवारले माग गरेको छ ।