२०८३ असोज २२ गते बिहिवार | 2026 October 8th Thursday

एसइईमा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीलाई नेशनल प्याब्सन दाङ द्वारा सम्मान

दाङ, १९ असार । नेशनल प्याब्सन दाङले एसइईमा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीलाई नगदसहित सम्मान गरेको छ ।
एन प्याब्सनको जिल्ला शाखा दाङले एन प्याब्सन अन्तर्गतका विद्यालयबाट शैक्षिक सत्र २०८१ को एसइईमा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीलाई प्रति विद्यार्थी २ हजार ५ सय नगद सहित प्रमाणपत्रले सम्मान गरेको हो ।
आज एक कार्यक्रम बीच एन प्याब्सनले छात्रातर्फ ४ जिपिए ल्याउने ६ जना र छात्रतर्फ ३ दशमलव ९६ जिपिए ल्याउने २ जना गरी जम्मा ८ जना विद्यार्थीलाई सम्मान गरेको हो ।

तुलसीपुरमा आयोजना गरिएको सम्मान कार्यक्रममा राप्ती गाउँपालिकाको पब्लिक एजुकेशन एकेडेमीका आशिका शर्मा, अमृत एकेडेमी बिजौरीका अन्जली घर्ती, पिपुल्स ल्याण्ड सेकेन्डरी स्कुल हापुरेका रिता पौडेललाई नगदसहित सम्मान गरिएको हो भने बाल सहारा मावि बनहरीका हरिकला घर्तीमगर, साधना अधिकारी र शिखा विकलाई एन प्याब्सनले सम्मान गरेको हो ।

यस्तै छात्रतर्फ मिड वेष्ट प्वाइन्ट एकेडेमी शान्तिनगरका नरेश चौधरी र लोकप्रिय विद्या मन्दीर शान्तिनगर–५ का भुपेश खड्कालाई नगदसहित प्रमाणपत्रले सम्मान गरिएको एन प्याब्सनले जनाएको छ ।
एन प्याब्सन दाङका अध्यक्ष शालिकराम कार्कीको अध्यक्षता तथा केन्द्रिय वरिष्ठ उपाध्यक्ष सुवोध कुमार डाँगीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका शिक्षा अधिकृत चित्रा बस्नेत, ज्ञानज्योति एजुकेशन फाउण्डेशनका सिइओ सुरेन्द्र जिसी, एन प्याब्सन तुलसीपुरका अध्यक्ष सुमन केसी, राप्ती गाउँपालिका संयोजक चम्पकसिं कार्की र शरद गौतमले समेत मन्तव्य राखेका थिए ।
वरिष्ठ उपाध्यक्ष ठाकुर प्रसाद डाँगीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण जिल्ला सचिव छविकुमार वलीले गरेका थिए ।

प्रकाशित मिति : २०८२ असार १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस